२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थापना काल देखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन गरी गराई सो जडीबुटीहरु प्रशोधन गरी स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउने र विदेशी बजारमा निकाशी गरी रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा टेवा पुर्याउने कार्य गर्दै आइरहेको छ।विगत ४२ वर्षदेखि कोरा जडीबुटीहरु तथा उब्जनी गरिएका बिज बिरुवाहरु कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद विक्री गर्ने तथा औषधिको आवश्यकता पुरा गर्न देशका विद्यमान वनस्पतिका श्रोत परिचालन समेत गर्ने गरेको छ। यस कम्पनीले मुख्यतयः सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको छ।लामो समयदेखि नेपाली बजारमा सन्चोको विक्री 5मि.लि को सिसिमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकता समेतलाई सम्बोधन गर्दै यस आ.व. २०८०/८१ बाट सिसिको मात्रा बढाइ १० मि.लि. को सिसि बजारमा भित्र्याउने भएको छ। कम्पनीको केन्द्रिय कार्यालयले हाल उत्पादित सन्चोको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ। हाडजोर्नी दुखेको, ज्वरो, रोघाखोकी, घाटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारको लागि विश्वासिलो र भरपर्दो औषधिको रुपमा रहेको सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग भइरहेकोमा आधुनिक प्रविधिको विकास सँगै ज.उ.प्र.कं.लि. ले अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी गरेको छ।हाल संचालनमा आउन लागेको उत्पादन भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको छ। यस उत्पादन भवनमा एच.भि.ए.सि. प्रणाली मार्फत हावाको शुद्धता कायम राखि क्लिन रुम (सफा कोठा) को व्यवस्था गरिएको छ। यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरिय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउछ। साथै, यस अत्याधुनिक भवनभित्र जडित स्वचालित फिलिङ्ग मेसिनले सन्चोको गुणस्तर र उत्पादन क्षमतासमेत वुद्धि हुने अनुमान गर्न सकिन्छ।